काठमाडौं, 31 जनवरी 2022
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन्। उनीहरूबीच मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो। सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन्। उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौती बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको उल्लेख गरिन्। राजदूतले नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाइन्। जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’ (सीएसआईआरओ) बीच सन् २०१७ मा समझदारी भएको थियो। सो सम्झौताअनुसार सीएसआईआरओ र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ।









































