काठमाण्डौँ, 9 अप्रेल
आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन्। आइतबार यता पाँच दिनमा कुल 1 हजार 4 सय 54 जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। ती सबै परीक्षणमा कोरोना भाइरस (कोभिड–19) नेगेटिभ भएको पाइएको छ। गत शनिबार सम्म कुल 1 हजार 4 सय 41 परीक्षण हुँदा 9 जनामा संक्रमण देखिएको थियो। जस मध्ये 1 जनालाई निको भइसकेको छ। शनिबार एकैदिन 3 जनामा संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो। तर बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताउनुभयो। उहाँले बिहीबार सम्म कुल 2 हजार 8 सय 95 परीक्षण भइसकेको बताउनुभयो। जसमध्ये उपत्यकामा 2 हजार 3 सय 82 र उपत्यका बाहिर 5 सय 13 परीक्षण भएको छ। त्यस बाहेक आज थप 1 सय 93 परीक्षण भइरहेको उहाँले बताउनुभयो। उहाँले बिहीबार गरिएका परीक्षण सम्पन्न भएपछि कुल परीक्षण तीन हजार नाघ्ने बताउनुभयो। त्यस्तै कैलाली र कञ्चनपुरबाट गरिएका 66 वटा परीक्षणको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ।
प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन प्रत्येक प्रदेशमा पाँच हजारका दरले ऱ्यापिड टेस्ट किट पठाएको बताउनुभयो। यस्तै अहिलेसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु कुल 7 हजार 9 सय 4 जना रहेको उहाँले बताउनुभयो। प्रवक्ता देवकोटाले उपत्यकामा 18 जना र उपत्यका बाहीर 99 जना गरी कुल 1 सय 17 जना आइसोलेसनमा रहेको बताउनुभयो। बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिम दिने काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो। उहाँले कल सेन्टरमा आएका 3 हजार 3 सय 95 जिज्ञासालाई सम्बोधन गरेको समेत बताउनुभयो।









































