काठमाडौं, 16 मार्च 2023
निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रबार बिहान १० देखि ३ बजेसम्म हुने मतदानको लागि निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा गरेको आयोगले बताएको हो। निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिताविपरीत कार्य नगर्न पनि आयोगले ध्यानाकर्षण गराएको छ ।
‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन’ आयोगले भनेको छ।
‘प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न/गराउन सम्बन्धित उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ,’ भनिएको छ।
उपराष्ट्रपतिको निर्वाचनमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् ।









































