काठमाण्डौ, 29 जुन 2020
आज असार १५ धान दिवस र रोपाइँ महोत्सव मनाईदैछ । असार १५ नेपाली किसानहरुका लागि महत्वपूर्ण पर्व हो । आजका दिन नेपाल र विदेशमा बस्ने नेपालीहरुले पनि दही, च्युरा खाएर असार 15 मनाउँछन ।
नेपालमा यसपटक ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भररता र समृद्धि ’भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मनाइदैछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतका विभिन्न निकाय तथा निजी क्षेत्रका सरोकारवाला संघ संस्थाले आज देशैभरि धान दिवस मनाइ रहेका छन् ।
कृषि मन्त्री घनश्याम भुसाल धान दिवस तथा रोपाइँ महोत्सव मनाउनका लागि उदयपुरको त्रियुगा नगरपालिका पुग्नुभएको छ। कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले काठमाडौंमा संयुक्त रुपमा महोत्सव मनाउने भएको छ । नार्कको अनुसन्धान केन्द्र खुमलटारमा संयुक्त रुपमा सो कार्यक्रम मनाइने छ ।
यसै अवसरमा कोभिड १९ लाई ध्यानमा राख्दै धान रोपाइँ गर्नका लागि कृषि विभागले दिशानिर्देश निर्धारण गरेको छ । धान महोत्सवका साथै अन्य समयमा पनि कोरानाभाइरसका कारण सतर्कता अपनाउँदै कृषि कर्म गर्न विभागले आग्रह गरेको छ ।१७ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने सन्दर्भमा कोभिड १९ रोगको संक्रमणबाट बच्न सावधानी अपनाउने विभागले आग्रह गरेको छ ।
सरकारको निर्णय बमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने विभागले आफ्ना मातहतका सबैतिर सर्कुलर गरेको छ । यदि २५ जना भन्दा बढी भएमा न्यूनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउने आग्रह गरेको छ । रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरन्जनात्मक हिलो छ्याप्ने जस्ता गतिविधि नगर्ने पनि आग्रह गरेको छ ।
कृषि मन्त्रालयले यसपाली धान उत्पादनमा वृद्धि हुने दावी गरेको छ । समयमा मनसुन शुरु भई धान रोपाइँ भएको र मल खादको अभाव नभएको हुँदा धान उत्पादनमा वृद्धि हुने दावी गरेको छ ।









































