काठमाडौं, 2 फरवरी 2022
साँखु शालिनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा पूजा आराधना गरेका छन् । एक महिने व्रतमा बसेका बर्तालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका हुन् । शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु मङ्गलबार साँझ शेषनारायण मन्दिर क्षेत्रमा आएर बास बसेका थिए । बिहान मन्दिर मुनिको पोखरीमा स्नान गरी शेषनारायणको पूजा आराधनासहित दर्शन गरेका थिए । शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन सकेर बर्तालुले फर्पिङ बजार परिक्रमा गरेका छन् । फर्पिङबाट बर्तालु पैदल बुङमती हुँदै शङ्खमूलमा आएर भोजन गर्ने कार्यक्रम छ । एक महिने व्रतमा रहेका माधवनारायणका बर्तालुले माघ शुक्ल प्रतिपदाका दिन शेषनारायणमा स्नानसहित पूजा आराधना गर्ने प्राचीन परम्परा छ । माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा शुरु गरेका हुन् । माघ कृष्ण चतुर्दशीका दिन सोमबार बिहान साँखुबाट बज्रयोगिनी माईको दर्शन गरी साँखुमा आएर बर्तालुले भोजन गरेका थिए । भोजनपछि पैदल हिँडेर बर्तालु सोमबार बेलुकी पशुपति क्षेत्रमा आइपुगेका थिए । कोरोनाको तेस्रो लहर फैलिरहेकाले पशुपतिनाथमा स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको व्रत विधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर माधवनारायणका बर्तालुको दर्शन विधि पूरा गर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रत्येक वर्ष माघ कृष्ण औँसीमा हुने पर्व पूजा भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी माधव नारायणका बर्तालुलाई पशुपतिनाथ मूल मन्दिरमा दर्शन गराइएको थियो । माधव नारायणको व्रत बसेका बर्तालुले दोस्रो चरणको तीर्थ यात्रा माघ २१ गतेदेखि गर्नेछन् । २१ गते साँखुबाट पनौती गएर बास बस्ने छन् । माघ २२ गते बिहान त्रिवेणीघाटमा स्नान गरी त्यहाँको इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम रहको छ । २२ गते दिउँसोको भोजन बनेपामा गरी साँखु आएर बास बस्ने समितिले जनाएको छ । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ ।









































