2 फरवरी 2022
टापु देश टोंगाले दुई जनामा भाइरस देखिएपछि बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा सरकारले अझै पनि उद्दारका प्रयास भइरहेका बेला सीमा बन्द गरेको हो । गत वर्ष एक जनामा संक्रमण देखिनु बाहेक टोंगामा झन्डै दुई वर्षसम्म भाइरसको असर देखिएको थिएन । अंतराष्ट्रीय संचारमाध्यमले दुई जनामा संक्रमण देखिएको जनाएको छ । संक्रमित दुबै जना बन्दरगाहमा काम गरिरहेका थिए, जहाँ टोंगालाई विभिन्न देशले मानवीय सहयोग गरिरहेका छन् । कुनै पनि डुंगालाई एउटा टापुबाट अर्को टापुमा जान रोक लगाइएको र घरेलु उडान नहुने जानाकारी दिँदै प्रधानमन्त्रीले ‘राष्ट्रिय लकडाउन’ घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सुनामीले प्रभावित टोंगालाई चीन, फ्रान्स, अमेरिका, न्युजिल्यान्ड, फिजी बेलायतले सहयोग गरेका छन् । पिउने पानीसहित अत्यावश्यक मेडिकल सामाग्री बोकेका पानी जहाज बन्दरगाह सहर पुगेका छन् ।









































