भक्तपुर, 8 जनवरी 2022
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको थियो । संसद्को अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुग्नुभएको हो । यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । एमालेले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म र एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा अवरोध गर्ने अडान राख्दै आएको छ ।









































