काठमाडौँ , १६ जनवरी २०२०
नेकपाभित्र जटिल बनेको सभामुख चयन प्रक्रियामा परेको गाँठो फुकाउन ओली–प्रचण्ड दुई अध्यक्षले पहल कदमी थालेका छन् । त्यसका लागि उनीहरुबीच अब लगातार छलफल गर्ने सहमति भएको छ ।
सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा अध्यक्षद्वय ओली र प्रचण्डबीच एकरुपता नभएपछि केही दिनयता उनीहरुबीच संवाद नै टुट्न पुगेको थियो ।
५ दिनको मौनतापछि ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै २ घण्टा छलफल भएको थियो ।
‘छलफल सकारात्मक ढङ्गले अघि बढेको छ’, वालुवाटार उच्च स्रोतले भन्यो, ‘पुनः शुक्रबार छलफल गरेर निश्कर्षमा पुग्न दुवै नेता सहमत भएका छन् ।’
बिहीबारको छलफलमा दुई नेताबीच सभामुखको विषयलाई लिएर देखिएको तिक्तता मेट्ने र सहमतिमा उम्मेदवार चयन गर्नेबारेमा केन्द्रीत भएको अध्यक्ष निकट स्रोतको दावी छ ।
स्रोतका अनुसार बिहीबार दुई अध्यक्षका बीचमा माघ ६ गतेको बैठक बस्नुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा गर्ने र नेकपाको तर्फबाट सभामुखका लागि उम्मेदवारी दर्ता गर्नेमा एकमत भएका छन् ।
सभामुखमा बढेको विवादले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच गत आइतबार यता भेटघाट र सम्बाद हुन सकेको थिएन । सभामुख चयन प्रकरणमा कुरा नमिलेपछि उनीहरुबीच सम्वाद र भेटघाटमा लागेको ‘व्रेक’ तोडिएसँगै अव सभामुखबारे दुई नेता निर्णयमा पुग्ने आशा पलाएको नेकपाका नेता कार्यकर्ताको भनाई छ ।
प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका थिए । दुवैले आ–आफ्नो अडान नछाडेपछि यसअघिका छलफलबाट ठोस निश्कर्ष आउन सकेको थिएन । जसका कारण प्रतिनिधिसभा बैठक समेत पटक पटक स्थगित हुदै आएका थिए ।
नेकपाकै एक पक्षले उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा गर्न ढिलाई गर्दा सभामुख चयन प्रकृयामै ढिलाई भएको तथा संसद नै बन्धक बन्न लागेको भन्दै नेतृत्वलाई चाँडो निर्णयमा पुग्न दवाव दिदै आएको थियो ।









































