काठमाण्डौ, 20 अक्टोबर
कर्णाली प्रदेशमा देखिएको विवादबारे नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुईजना अध्यक्षबीच भएको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फरक-फरक धारणा बाहिर आएको छ । मङ्गलवार भएको भनिएको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको तर्फबाट गरिएको दाबीको अर्का अध्यक्ष प्रचण्डको सचिवालयले प्रतिवाद गरेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव संसदीय दलमा दर्ता हुनुअघि अवस्थामा पुर्याउने सहमति भएको जनाएका छन्। तर प्रचण्डको सचिवालयले उक्त भनाइ गलत भएको बताएको छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ “ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भयो।“
उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । साथै प्रेस नोटमा यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिएको छ।
कर्णाली प्रदेशमा नेकपाकै सदस्यहरूले संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि त्यहाँको विवाद पार्टीको केन्द्रसम्म पुगेको छ ।
अविश्वास प्रस्ताव दर्ता गर्नेहरूमा दुवै अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेश सभा सदस्यहरू पनि थिए। तर प्रचण्ड र नेपाल पक्षका नेताहरूबीचको सहमतिपछि उनीहरू निकट सदस्यहरू पछि हटेको बताइएको छ। त्यसपछि मुख्यमन्त्रीले प्रधानमन्त्री ओली पक्षका भनिएका प्रमुख सचेतक हटाएका थिए। र, नयाँ प्रमुख सचेतक नियुक्त गरेका थिए। त्यही विवादको सिलसिलामा दुवै पक्षका नेतालाई काठमाण्डू डाकेर दुवै अध्यक्षले परामर्श गरेका थिए। तर परामर्श थप विवाद निम्त्याउने ढङ्गले प्रकट भएको छ।









































