नयाँ दिल्ली, 20 अप्रेल
नेपाल तरूण दल भारत र नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले भारतको उत्तर प्रदेश राज्यको गाजियाबादमा नेपालीहरूलाई खाद्यान्न वितरण गरेको छ। नेपाल तरुण दल भारतका महासचिव नागेन्द्र प्रसाद जोशी, कोषाध्यक्ष अर्जुन बोगटी र नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय अध्यक्ष सुनिता कुँवरको संयुक्त पहलमा राष्ट्रिय राजधानी क्षेत्र गाजियाबादको शास्त्रीनगरमा रहेका केही नेपाली नागरिकहरूलाई खाद्यान्न लगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराईएको हो।
कोरोना भाइरस (कोभिड-19) महामारीका कारण अहिले समग्र विश्व आक्रान्त बनेको छ। यस महामारीबाट जोगिन अहिले सारा विश्वमा लकडाउनको स्थिति छ। भारतमा पनि दोस्रो पटक गरी मे 3 तारीखसम्मका लागि लकडाउन अर्थात् बन्दाबन्दी छ। भारतमा थपिदै गएको लकडाउनका कारण थुप्रै नेपाली नागरिकहरु अलपत्र परेका छन् साथै उनिहरूमा भोक-भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको छ। भारतमा नेपाली नागरिकले कम्तिमा पनि भोकै मर्ने स्थिति नआओस् भनेर नेपाली काँग्रेस निकटका दुवै संगठनहरू तत्परताका साथ कामा गरिरहेको तरुण दल भारतका महासचिव नागेन्द्र प्रसाद जोशीले बताउनुभयो। उहाँले राहत वितरण गरेको फोटो सामाजिक सञ्जालमा साझा नगरि पिडितहरूलाई निस्वार्थ भावनाले सहयोग गर्न सबै दाताहरुलाई आग्रह गर्नुभयो।
नेपाल तरूण दल भारत र नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले लकडाउन सुरू भएदेखिनै नेपालीहरूलाई सहयोग पुऱ्याउँदै आएको छ। यसअघि नेपाल तरुण दल भारतले नयाँ दिल्लीस्थित नाँग्लोई देवात र रोहिणीलगायतका विभिन्न ठाँउमा नेपाली समुदायका 50 जना नागरिकहरूलाई 15 दिन पुग्ने खाद्यान्न उपलब्ध गराएको थियो।









































