काठमाण्डौँ, 15 अप्रेल
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आर.डी.टी. विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ। सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा मंगलबार कोरोना भाइरस (कोभिड–19) संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा रहेकाहरुको परीक्षण थालिएको हो। ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पी.सी.आर. विधिबाट गरिएको परीक्षणमा 2 जनाको कोरोना पुष्टि भइसकेको छ। बुधबार ब्लक ‘ए’ मा रहेका 90 परिवारका 2 सय 43 जनाको परीक्षण थालिएको छ।
गत चैत 8 गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो। सनसिटी अपार्टमेन्टमा रहेका पाँच वटा ब्लकमा 5 सय परिवारका करिब 1 हजार 5 सय जना बस्दै आएका छन्।









































