काठमाडौं,7 अगस्त 2020
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने भएका छन। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावस्यक बाहेकका पाँच वटा सेवा १५ दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाहरु नागरिकता वितरण, राहदानी वितरण, संस्था दर्ता, जनजाती सिफारिस, नावालक परिचयपत्र वितरण लगायतका सेवाहरु साउन २५ गते आइतबार देखि भदौ ८ गते सोमबार सम्मका लागि स्थगित भएको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संक्रमणबाट बच्न, दुरी कायम गर्नका लागि र भीडभाड कम गर्नको लागि पहिलो हतियारको रुपमा अत्यावस्यक बाहेकका सेवा प्रवाहलाई स्थगन गरिएको बताउनुभयो । उहाँले कोभिडसँग सम्बन्धित पास वितरणको कार्य, विपदसँग सम्बन्धित कार्य र शान्ति सुरक्षाका सेवा लगायतका कार्यहरु बाहेकका सबै सेवा स्थगन गरिएको बताउनुभयो।
भीडभाड गर्ने र मास्कको प्रयोग नगर्ने व्यक्तिलाई थप कडाई गर्ने पनि दाहालले बताउनुभयो। अहिले सम्म कारबाही स्वरुप जरीबाना गरिएकोमा अबदेखि नियम पालना नगरे कैद सम्मको कारबाही हुनसक्ने बताउनुभयो। उहाँले भीडभाड अनुगमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको पनि बताउनुभयो। उक्त समितिले विभिन्न क्षेत्रमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पालना भए नभएको सम्बन्धमा अनुगमन गर्ने छ। बैंकिङ क्षेत्र, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखानामा अनुगमन गरी मापदण्ड पालना नभएको पाइए बन्द गराउने पनि उहाँले बताउनुभयो। अहिले लकडाउनमा जान सक्ने स्थिति नभएकाले दुरी कायम गराउने र भीडभाड कम गर्ने विषयमा तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरु केन्द्रीत भएको उहाँले बताउनुभयो । त्यस्तै सम्भावित संक्रमणको जोखिमलाई हेरेर क्वारेन्टीनको संख्या बढाउन पालिकाहरुलाई आग्रह गरिएको समेत बताउनुभयो । उहाँले अन्य सरकारी कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखले नै निर्णय गर्न सक्ने बताउनुभयो ।









































