काठमाण्डौ,21 अक्टोबर 2020
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ जनामा संक्रमण फेला परेको बताउनुभयो। यससँगै कुल सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ। हलसम्म संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना व्यक्तिमा संक्रमण फेला परेको छ। जसमध्ये काठमाडौंमा २ हजार ३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ जना र ललितपुरमा ५ सय ४३ जना रहेका छन।
प्रवक्ता गौतमका अनुसार २९ हजार ८ सय जना संक्रमित होम आएसोलेसनमा रहेका छन भने १४ हजार ६ सय ७६ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जना व्यक्तिको मृत्यु भएको छ। यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २ हजार ९ सय ९६ रहेको छ। यससँगै हालसम्म निको हुनेहरुको संख्या ९९ हार ६ सय ५ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार आज आइसियुमा उपचार गराउने संक्रमितहरुको संख्या २ सय ६९ रहेको छ। भेन्टिलेटरमा उपचार भएका संक्रमितहरुको संख्या ८७ रहेको छ। देशभर ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो। पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएको छ। हालसम्म १३ लाख ३४ हजार ८ सय ९७ जनाको पीसीआर परीक्षण भएको छ। सबै कोभिड-१९ अस्पताल र प्रयोगशालाहरु दशैं विदामा समेत आवश्यकता अनुसार सञ्चालन हुने पनि प्रवक्ता गौतमले बताउनुभयो।









































