काठमाडौं, 4 सेप्टेम्बर 2020
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ। विश्वव्यापी महामारीकार रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो । प्राविधिक मान्छेहरुले संवेदशील विषयमा बोल्दा ध्यान दिनुपर्ने महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले बताउनुभयो । आफुलाई विज्ञ भनेर चिनाउने मान्छेहरु समेत अनावश्यक भ्रम फैलाएको पाइएकोले त्यसो नगर्न उहाँले आग्रह गर्नुभयो । संघीयता सुरु हुनु भन्दा पहिले सिधै जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर काम गर्नसकिने अवस्था भएपनि अहिले तीन तहको सरकार हुँदा आवश्यक बजेट समेत दिन समस्या भएको उहाँले बताउनुभयो । महामारीको समयमा स्थानीय तहसम्म स्वास्थ्य संस्थासँग सिधा सम्बन्ध राख्न सकिने वातावरण बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले अहिले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण क्षमता भएपनि १८ हजार भन्दा बढी परीक्षण गर्न समस्या हुने बताउनुभयो । ८ नीजि समेत गरी ४८ वटा परीक्षण प्रयोशालाबाट दैनिक १८ हजारसम्म परीक्षण गर्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । स्वाव नमुना प्रयोगशालामा आएको ३८ देखि ४८ घण्टासम्म सामान्यतया रिपोर्ट आउने भएपनि तत्काल परीक्षण गर्नैपर्ने र २, ३ दिनपछि पनि परीक्षण गर्दा हुने स्वावहरु सँगै आउँदा केही समस्या देखिने गरेको उहाँले बताउनुभयो । रिपोर्ट पोजेटिभ आएकाहरुलाई ट्रेसिङ नगरी तत्काल रिपोर्ट दिदाँ व्यवहारिक समस्याहरु आउने गरेको उहाँले बताउनुभयो । प्रयोगशालाहरुमा जनशक्ति अभाव रहेको र नीजि क्षेत्रमा प्रयोगशाला सञ्चालनका लागि दबाव आउने गरेको उहाँले बताउनुभयो । नीजि क्षेत्रले विशुद्ध व्यापारिक हिसाबले इच्छा देखाउने गरेको पाइएको उहाँले बताउनुभयो।









































