काठमाडौँ, 3 सितम्बर 2021
कोरोनाका कारण पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग मन्दिर खोल्नका लागि, परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए। नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो। कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो। कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले बताए। पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो। मन्दिर खुला गरिएपछि भक्तजनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर, अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ। भौतिक दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ।









































