काठमाण्डौँ, 24 अप्रेल
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजिकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको बताउनुभयो। उहाँले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताउनुभयो। उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स 1/1 जना रहने छन्। हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा 2 समूह, उपमहानगरपालिकामा 3 समूह र महानगरपालिकामा 5 वटा समूहका दरले खटाइने समेत उहाँले बताउनुभयो। प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइने समेत बताउनुभयो।
यस्तै प्रवक्ता देवकोटाले शुक्रबार कोरोना भाइरस संक्रमण भएका कुनैपनि नयाँ बिरामी नथपिएको बताउनुभयो। उहाँले प्रदेश नम्बर एकमा परीक्षणको दायरालाई बढाइएपनि नयाँ संक्रमण फेला नपरेको बताउनुभयो। यद्यपी उदयपुरबाट 78 जनाको स्वाब नमुना संकलन गरी कोशि अस्पतालमा पठाइएको उहाँले बताउनुभयो।
प्रदेश 2 का 8 वटै जिल्लाका 27 स्थानहरुमा 15 सय भन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्य सहित टोली परिचालन गरिएको उहाँले बताउनुभयो। टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना लगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली आजै परिचालन गरिएको उहाँले बताउनुभयो।
अहिलेसम्म पीसीआर प्रविधिबाट 9 हजार 4 सय 7 जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट 38 हजार 89 परिक्षण गरिएको छ। यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या 47 हजार 4 सय 96 पुगेको प्रवक्ता देवकोटाले बताउनुभयो। पछिल्लो 24 घण्टामा 3 हजार 7 सय 91 नयाँ परीक्षण भएको समेत उहाँले बताउनुभयो।
प्रदेश नम्बर 1 मा अहिले सम्म 3 हजार 9 सय 29, प्रदेश 2 मा 4 हजार 9 सय 77, बागमती प्रदेशमा 7 हजार 1 सय 43, गण्डकी प्रदेशमा 4 हजार 7 सय 83, प्रदेश 5 मा 2 हजार 8 सय 74, कर्णाली प्रदेशमा 4 हजार 8 सय 70 र सूदुरपश्चिम प्रदेशमा 9 हजार 5 सय 13 परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। उहाँले अहिलेसम्म देशभर 12 हजार 9 सय 85 जना व्यक्तिरु क्वारेन्टाइनमा रहेको बताउनुभयो। यस्तै काठमाडौं उपत्यकामा 3 र उपत्यकाबाहिर 86 गरी कुल 89 जना आइसोलेसनमा रहेको समेत उहाँले बताउनुभयो।
अहिले सम्म कुल संक्रमित 48 जना छन भने 10 जना निको भएर घर फर्किइसकेका छन्।









































