काठमाण्डौँ, 6 अप्रेल
कोरोना भाइरस (कोभिड-19) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लक डाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लक डाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो। औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो। राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पुऱ्याएर सहजता प्रदान गरेपनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिनुभयो। अहिले एचआईभी संग सम्वन्धित काम गर्दै आएका संघ संस्थाहरुको समन्वयमा घर घरमा औषधी पुऱ्याउन थालेपनि एक स्थानीय निकाय देखि अर्को जान बन्द गर्ने निर्णय सँगै भने समस्या आउन सक्ने उहाँको भनाई छ।
हाल देश भर 18 हजार 555 जना एआर्टी लिनेको संख्या रहेका छन्। समाजमा विद्यमान कुरीती र कुप्रथा एवं सामाजिमा ब्याप्त पुरानो विचार धारा, लान्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधी लिनेहरुमा समस्या देखिको छ। यद्यपी महासंघले आपसि समन्वयमा सम्बन्धि जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरि त्तकाल समस्या समाधान गरिहेको छ।
एचआइभी संक्रमितले लिदै आएको औषधी एआर्टीको स्टक दुई महिनाको लागि मात्र रहेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ।
काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै 2 हजार 450 जनाले औषधि लिदैँ आएका छन्। ठुलो संख्यामा औषधी लिने एकै मात्र एआर्टी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट आफ्ना औषधी लिनेहरुको घर घर औषधी पुऱ्याउने काम भई रहेको छ। हाल देश भर 80 वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधी लिदै आएका छन्। यस्तै देश भरमा 1 हजार 356 जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन्।









































