नयाँ दिल्ली, 6 अप्रेल
भारतको राजधानी दिल्लीमा लकडाउनका कारण बालबच्चासहित फसेका 26 नेपालीहरुलाई प्रवासी नेपाली हेल्प मिसनले खाद्यान्न सहयोग गरेको छ । दार्चुलाका 26 जना नेपालीलाई मिसनले खाद्यान्न सहयोग गरेको हो । कर्नाटकको बेङलोरबाट नेपाल जाने भन्दै हिडेका उनिहरु गत 22 मार्चमा दिल्लीमा जनता कर्फ्यु लगाइएदेखि अलपत्र परेका थिए ।

त्यसपछि उनिहरु छत्तरपुरमा रहेका आफन्त कहाँ शरण लिन बाध्य भएका थिए । आफुसित भएको पैँसाले केही दिन खानापिनामा समस्या नभएपनि अहिले भोकै रहने बाध्यता आएपछि उनिहरु हेल्प मिसनका उपाध्यक्ष लक्ष्मण दयालको सम्पर्कमा आएर सहयोगको अपील गरेका थिए । त्यसपछि हेल्प मिसनका केन्द्रीय सचीव सुरत दयाल र सदस्य बिरेन्द्र दयालले उनिहरुलाई भेटेर केही दिनका लागि पुग्ने गरि खाद्यान्न लगायत आवश्यक सामग्री वितरण गरेका हुन।









































