काठमाण्डौँ 11 अप्रेल
सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताउनुभयो। उहाँले प्रत्येक दिन सात आठ सय भन्दा बढीको परीक्षण भइरहेको तर नयाँ संक्रमण फेला नपरेको बताउनुभयो।
यस्तै परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमडौंको बिर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो। प्रवक्रा देवकोटाले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण शुरु हुने बताउनुभयो। अहिलेसम्म नेपालभर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा 8 हजार 82 जना रहेको उहाँले बताउनुभयो। क्वारेन्टाइनमा बसेका सबैको ऱ्यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उहाँले बताउनुभयो। यस्तै अहिलेसम्म आइसोलेसनमा 82 जना रहेको समेत प्रवक्ता देवकोटाले बताउनुभयो। उहाँले तीन दिन यता ऱ्यापिड डाइगोनेस्टिक किटको माध्यमबाट परीक्षणको दायरा बढाइएको बताउनुभयो। उहाँले विदेशबाट आउने व्यक्तिहरु नेपाल आइसकेको 14 दिन भन्दा बढी भएको अवस्थमा यो किटको परीक्षणबाट सही रिपोर्ट आउने भएकाले दायरा बढाइएको बताउनुभयो।
यस्तै 77 वटै जिल्लामा ऱ्यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उहाँले बताउनुभयो। यस्तै सरकारले सञ्चालन गरेको कल सेन्टरमा पछिल्लो 24 घण्टामा 3 हजार 40 जनाको जिज्ञासाको सम्बोधन भएको उहाँले बताउनुभयो। चौबिस घण्टामा 5 जना रेड जोनमा परेको र अहिलेसम्म 1 सय 89 जना रेड जोनमा रहेको उहाँले बताउनुभयो।









































