नयाँ दिल्ली, 11 अप्रेल
कोरोना भाइरस (कोभिड-19) बाट ज्यान गुमाउनेको संख्या र संक्रमित हुनेहरूको संख्या बढ्दै गएपछि भारत सरकारले लक डाउन अवधि दुई साता थप्ने तयारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरुसँगको करीब 4 घण्टा बसेको बैठकमा लकडाउन बढाउने तयारी गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत जानकारी दिनुभएको छ। उहाँले ट्विटरमा लेख्नुभएको छ, “प्रधानमन्त्रीले लकडाउन बढाउने सही निर्णय लिनु भएको छ।” तर लकडाउनको घोषणा हुन भने बाँकी छ।
मुख्यमन्त्री केजरीवालले लकडाउनबारे प्रधानमन्त्री मोदी स्वयम्-ले घोषणा गर्ने भन्नुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन्। पञ्जाबमा काँग्रेस सरकार तथा ओडिसा सरकारले 30 अप्रिलसँग लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई साता लकडाउन बढाउन सुझेका छन्।
प्रधानमन्त्री मोदीले शनिबार विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा 21 दिनपछि तेस्रो बैठक बसेर छलफल गर्नुभएको हो। बैठकमा मोदीले लगाएको आफ्नो गमछालाई नै मास्क बनाउनुभएको थियो।









































