काठमाण्डौँ, 1 मे
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड-19) को परीक्षण दायरा विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एक जनाको नमुना छनोट गरी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। लकडाउनमा परेका अति विपन्न, न्यून आय भएका, दैनिक ज्यालादारीमा काम गरी जिविकोपार्जन गर्दै आएका मजदुर र किसानहरुको समस्यालाई सम्बोधन गर्न उपयुक्त राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति परशुराम मेघी गुरुङले बताउनुभयो।
समितिले बजारमा कृत्रिम अभाव गरी कलोबजारी गर्ने र बढी मूल्य लिने प्रवृतिलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरी कानून बमोजिम कारवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ। यस्तै स्थानीय स्तरमा उत्पादन हुने फलफुल, तरकारी, दुध जस्ता पदार्थलाई खरिद गरी, निश्चित समय र स्थान निर्धारण गरी विक्रि वितरणका लागि स्थानीय तहसँग समन्वय गर्न पनि निर्देशन दिएको छ। कुनै पनि काम गर्दा जनविश्वासलाई मध्यनजर पारदर्शी तवरले सञ्चालन गरी विपदका समयमा जनआस्था आर्जन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। जनप्रतिनिधि र कर्मचारी तथा यसमा संलग्न सबैलाई उच्च सम्मान र प्राथमिकताका साथ उनीहरुको पारिवारिक सुरक्षाको प्रतिवन्ध मिलाउन र उच्च मनोबल कायम गर्नका लागि समुचित व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको सभापति गुरुङले बताउनुभयो।
समितिले लक डाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको छ । लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।









































