भक्तपुर, 8 जनवरी 2021
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताउनुभएको छ । प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभामा बोल्दै नेता थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताउनुभयो । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँकतै नलेखेको भन्दै उहाँले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताउनुभयो ।
संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाईने बताउनुभयो । कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएको नेता थापाको भनाई छ । सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उहाँले बताउनुभयो । नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उहाँको भनाई छ ।
नेता थापाले अदालतले संसद पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गर्नुभयो । असंवैधानिक कदमका विरुद्ध कांग्रेस दह्रोगरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उहाँको भनाई छ । नेपाली कांग्रेसले सरकारको यस कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।









































