गुल्मी, 4 सेप्टेम्बर, सुभाष बस्नेत
युथ फोर चेन्ज नेपाल (गुल्मी) नामक युवाहरुको स्वतन्त्र सामाजिक संस्थाले इस्मा गाउँपालिकाका अलग–अलग ठाउँहरु र मुसिकोट नगरपालिकाका पहिरो पीडितलाइ राहत वितरण गरेको छ। इस्मा गाउँपालिका वडा न १, ३, र ४ का ८४ घर परिवारलाई राहत स्वरुप नगद राशि सहयोग गरेको छ। त्यस्तै मुसिकोट नगरपालिकाका ३ घरपरिवारलाई समेत संस्थाले राहत वितरण गरेको छ।
संस्थाले आफ्नै कार्य समितिमार्फत करिब एक हप्ता भन्दा बढी स्थलगत अनुसन्धान गरेको थियो। टिमले पहिरोकाे अवलोकन तथा स्वतन्त्र नागरिक अगुवाहरुसँगको प्रत्यक्ष भेटघाट र पहिरोको क्षति तथा आयस्रोतको आधारमा पीडितहरुको वर्गिकरण गरेको र उक्त रिपोर्टको आधारमा संस्थाले राहत वितरण गरेको अभियान्ता सुरेश अर्यालले बताए ।
संस्थाले चार वर्गमा राहत वितरण गरेको छ । ‘क’ बर्ग मानवीय क्षति, ‘ख’ बर्ग भौतिक क्षति तथा न्युन आयस्रोत, ‘ग’बर्ग उच्च जोखिम तथा न्यून आयस्रोत र ‘घ’ वर्गमा सामान्य क्षतिका आधारमा पीडितहरुको वर्गिकरण गरेको थियो। इस्मा गाउँपालिका वडा न १ मा ‘क’ वर्गमा २ घरपरिवार, ‘ख’ वर्गमा २९ परिवार, ‘ग’ वर्गमा २१ र ‘घ’ वर्गमा ६ गरि जम्मा ५७ घरपरिवारलाई राहत वितरण गरेको छ।
त्यस्तै वडा न ३ मा ‘ग’ वर्गमा ३ परिवार र वडा न ४ का ‘ख’ वर्गमा ८ घरपरिवार, ‘ग’ वर्गमा ११ घर परिवार र ‘घ’ वर्गमा ५ घरपरिवारलाई संस्थाले राहत वितरण गरको छ। संस्थाले मुसिकोट नगरपालिकामा ‘क’ वर्गमा १ र ‘ग’ वर्गमा २ गरि ३ घर परिवारलाई समेत राहत वितरण गरेको छ।
पीडितहरुको संख्या धेरै भएता पनि मानवीय क्षति, भौतिक क्षति तथा न्युन आयस्रोत र उच्च जोखिम तथा न्यून आयस्रोतको आधारमा जम्माजम्मी ८७ घर परिवारलाई राहत वितरण गरेको बताउँछन कतारमा कार्यरत अभियान्ता तिलक अर्याल। संस्थाले ‘क’ वर्गलाई १५ हजार, ‘ख’ वर्गलाई ८ हजार र ‘ग’ वर्गलाई ४ हजार ५ सयकाका दरले राहत वितरण गरेको कतारमा कार्यरत रहेका अभियान्ता बाबुराम महतले बताए। त्यस्तै ‘घ’वर्गका पीडितलाई १५ सय बराबरको खाद्यान्न वितरण गरेको छ । संस्थाले कुल ५ लाख १५ हजार नगद हस्तान्तरण गरेको थियो।
इस्मा गाउँ पालिका वडा न १ मा वडा सदस्य जंग बहादुर खत्री, वडा न ३ मा वडा अध्यक्ष तोयानाथ सापकोटा, वडा न ४ मा वडा अध्यक्ष गनु प्रसाद अधिकारी र मुसिकोट नगरपालिका –२ मा वडा अध्यक्ष लक्ष्मण खत्रीको रोहवरमा राहत वितरण समिति संयोजक सुरेश अर्यालले पीडितलाई राहत हस्तान्तरण गरेका थिए।
युथ फोर चेन्ज गुल्मीले आफ्ना आन्तरिक समितिहरु मार्फत भिभिन्न देशहरुबाट राहत संकलन अभियान चलाएको थियो। विशेषत इस्मालीहरुप्रति राहतको आवहन गरेको र अभियानमा भारत, कतार, नेपाल, साउदी, यूएई, अमेरिका, फ्रान्स, मकाउ, मलेसियालगायत १५ भन्दा बढी देशहरु बाट १८५ दाता तथा संस्थाहरुले दुर्ई सय देखि १५ हजार सम्मको रकम सहयोग गरेको अभियान्ता सुबास बस्नेतको भनाइ छ ।
वर्षायामको सुरूवात संगै प्राकृतिक प्रकोपबाट २०७७ साल आषाढ १८ गते गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं १, हस्तीचौर मल्दि डाडा, जुकेपानी, रातापानी र मुसिकोटलगायतका गाउँमा पहिरो गई ठुलो जनधनको क्षति हुन पुगेको थियो । पहिरोबाट कैयौं घरपरिवार विस्थापित समेत हुन पुगेका थिए। ‘प्राकृतिक प्रकोपबाट हुन पुगेको यो घटनाले हामी सबैलाई निकै मर्माहित बनायो। यो दुखको घडीमा हाम्रो पनि केही दायित्व महसुस गर्दै पीडितहरुको समस्यामा केहि हद सम्म भए पनि सान्तवना दिने उद्धेश्यले युथ फोर चेन्ज, गुल्मीले राहत संकलन गरेको हो,’ संस्थाका अर्का अभियान्ता किरण अधिकारीले भने ।
अभियान्ता भरत पौडयालका अनुसार रकम जुटाउने अभियानमा भारतबाट आफुलगायत सुबास बस्नेत, सुरेश अर्याल, संजय अधिकारी (नेपाल), सन्तोष अधिकारी (अमेरिका), तारा खत्री (फ्रान्स), किरण अधिकारी, बाबुराम महत, सुन्दर बस्नेत, तिलक अर्याल, यमराज महत (कतार) तारा अर्याल लगायतका व्यक्तिहरु खटिएका थिए ।
युथ फोर चेन्ज नेपाल गुल्मी युवाहरुको स्वतन्त्र सामाजिक संस्था हो। देश विदेशमा भएका युवाहरुलार्ई एकत्रित गरि देशमा नै केहि गर्नु पर्छ भन्ने उदेश्यले विशुद्द सामाजिक संस्थाको रुपमा स्थापना गरिएको अमेरिकाबाट अभियान्ता सन्तोष अधिकारीले बताए ।









































