अछाम, 4 सेप्टेम्बर
अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितलाई अमेरिकामा बस्दै आएकी बसन्ती सिंह शाहले 1 लाख 18 हजार रुपैँया आर्थिक सहयोग गरेकी छिन । अमेरिकामा पछिल्लो 10 वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएकी अछामकी बसन्ती सिंह शाहले आफ्नो गृह जिल्लालाई परेको पीडामा अलिकति भएपनि मलहम लगाउन आर्थिक सहयोग गरेको बताएकी छिन ।
रामारोशनमा आएको बाढीले बगाएर १७ जना बेपत्ता भएका छन । गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारमा व्यापार गर्दै आएका १७ जनालाई मङ्गलबार राति आएको बाढीले बगाएको थियो । त्यस मध्ये चार जनाको शव बान्नीगढी जयगढ गाउँपालिका ६ को दर्नाको कोसेडा क्षेत्र र दुई जनाको शव मङ्गलसेन नगरपालिका ३ को रलेको लमतणा र सेरीमा भेटिएको थियो । बाढीले बगाउनेमा चन्द्रबहादुर साउद, बसुन्धरा साउद, नन्द सिंह साउद, गंगा साउद, रुपेश साउद, जोगा साउद, नवीन साउद, कविता बुढा साउद, अमरबहादुर साउद, पवित्रा शाह, समिर शाह, लालसरा शाह, वसन्ती शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेका थिए ।









































