काठमाण्डौ, 25 जुन 2020
परराष्ट्र मन्त्रालयले चीनले नेपालको भूमि मिचेको भन्ने समाचारमा कुनै सत्यता नरहेको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै कृषि तथा पशुपंक्षी मन्त्रालयको अस्तित्वमा नै नरहेको प्रतिवेदनलाई आधार बनाएर सञ्चार- माध्यममा आएका समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
सन् १९६१ अक्टोबर ५ तारिखको सीमा सम्झौता अनुसार नेपाल–चीनबीचको सीमा निर्धारण भएको र समाचारमा बताइए अनुसार चीनसँगको ३७ र ३८ नम्बर सीमा स्तम्भ प्राकृतिक समस्याका कारण निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सीमाको विषयलाई लिएर कुनै पनि समस्या आएमा दुई देशका अधिकारीबीचको आपसी समन्वयमा समाधान गरिने पनि बताइएको छ । ‘यस्तो संवेदनशील विषयमा टिप्पणी गर्नुअघि सञ्चारमाध्यमलाई सम्बन्धित प्राधिकरणबाट सूचना प्रमाणीकरण गर्न अनुरोध समेत गरिएको छ । यस्ता समाचार प्रसारण गर्दा दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पर्नेबारे सोच्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।









































