जनकपुर, 18 अप्रेल
जनकपुरधामको सडकमा पैसा फाल्दै भागेका 2 महिलालाई प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरस (कोभिड-19) को संक्रमण बढिरहेको समयमा 2 महिला सडकमा पैसा फ्याँकेर भागेपछि स्थानिय त्रसित बनेका थिए। शुक्रबार जनकपुरधाम वडा नम्बर 4 महावीर चोकस्थित बीच बाटोमै पैसा फाल्दै भागेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 7 की आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडी रहेको मस्जिद नजिकबाट पक्राउ गरेको हो।
उनिहरु दुवै जनालाई शनिबार दिउँसो पक्राउ गरिएको हो। उनिहरू दुवै जना नन्द र भाउजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो।
सिसिटिभी फुटेजको आधारमा उनिहरु दुवै जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक कार्कीले बताउनुभयो।









































