धनुषा, 8 डिसेम्बर 2020
जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गर्नुभएको हो । निर्माण शुरु भएको आठ वर्षपछि संचालनमा आएको टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भटटराईले जनकपुर विमानस्थलको विकासमा सरकार दृढ रहेको बताउनुभयो । त्यसका लागि तीन वटै तहका सरकारको बीचमा समन्वय र सहकार्य आवश्यक रहेको पनि बताउनुभयो । यस्तै जनकपुरलाई आकर्षक धार्मिक पर्यटकिय नगरिको रुपमा विकास गर्न संघीय सरकार अग्रसर रहेको पनि बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण भएसँगै आवागमनमा सहज हुने र पर्यटकिय गतिविधि समेत बढ्ने बताउनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुर विमानस्थलको नाम परिवर्तन गरेर जनकपुरधाम विमानस्थल राख्नुपर्ने बताउनुभयो । यो विमानस्थलमा २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । २०६९ साल देखि निर्माण शुरु भएको नयाँ टर्मिनल भवन करिब ४५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने क्षमता रहेको छ ।









































