काठमाण्डौ, 8 डिसेम्बर
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताउनु भएको हो । पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गर्नुभयो । मोरङको मिक्लागुङ्गमा भएको हत्याको प्रशंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताउनुभयो । साथै आफ्नो सरकारले यस्ता गतिविवधि हुन नदिने तर्फ सचेत रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनैतिक समस्या निम्त्याउन खोजिएको पनि बताउनुभयो । राजनैतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएपनि सफल नहुने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।









































