नयाँ दिल्ली, 10 जुलाई 2020
नेपालमा भारतीय नीजि सञ्चार माध्यमहरुमा प्रतिवन्ध लगाईएपछि सामाजिक सञ्जाल र आफ्नो कार्यक्रममा समेत आपत्तिजनक ट्वीट गरेका जी न्यूजका प्रमुख सम्पादक सुधीर चौधरीले आफ्नो ट्वीट हटाएका छन । उनले आज एक ट्वीट गर्दै भनेका छन, ” मेरो यस ट्वीटले नेपालका हाम्रा दर्शकहरुलाई दुःख लागेको छ । कयौं भारतीयले पनि सो विचार सही नभएको मलाई भनेका छन । हुन सक्छ मैले यो खबर आएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको थिए । यो मञ्च अभिव्यक्तिको हो, दुःख दिने होइन । त्यसैले खेद प्रकट गर्दै यो ट्वीट हटाँउदैछु । “

जी मिडीयाकै क्षेत्रीय च्यानल लगायत अन्य केही भारतीय च्यानलहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने गरि समाचार प्रसारण गरेपछि नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानलको प्रशारण बन्द गरेका छन।
भारतीय न्युज च्यानलको प्रशारण बन्द हुने बित्तिक्कै जी न्यूजका प्रमुख सम्पादक सुधीर चौधरीले एक ट्वीट गर्दै भनेका थिए, “नेपालले भारतका न्यूज च्यानलहरु ब्लक गरिदिएको छ । यो देश त भारतका न्यूज एंकरहरुबाट नै डराएको छ । सेनाको आवश्यकतानै परेन ।”

उनको यस ट्वीटमा रिट्वीट गर्दै नेपाली र अधिकांश भारतीयले पनि विरोध गर्नुका साथै निन्दा गरेका थिए ।
नेपाल-भारतबिच सदियौंदेखि प्रगाढ सम्बन्ध रहेपनि कहिले काँही सीमा विवादका कारण समस्या उत्पन्न हुने गरेको छ । वार्ताबाट विवाद सुल्झाउने प्रयास विगतमा भएको थियो भने अहिलेको विवाद समाधानका लागि पनि संवाद अन्तिम विकल्प भएको मानिएको छ । तर सुधीर चौधरीको सो ट्वीटमा सेना सम्मको कुरा गरिएको थियो ।









































