काठमाण्डौ, 20 अगस्त 2021
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब आफू नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेको बताएका छन्। भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको जनाएका हुन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। एमालेमा रहँदा नेपाल- खनालपक्षका साथमा रहेका अधिकांश स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुले नयाँ पार्टीमा साथ दिएका थिएनन्। दल दर्ता निवेदनमा खनाललाई वरिष्ठ नेता राखिएको छ।









































