काठमाण्डौँ, 17 मई 2020
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाई गर्न सरकारलाई सिफारिस गरेको छ। आइतबार बसेको समिति बैठकले जेठ 5 गतेपछि लकडाउन थप कडाई गर्न सरकारलाई सिफारिस गरेको हो। लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाई गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताउनुभयो।
बजेट छुट्याएरै भएपनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ। उहाँले भन्नुभयो, ‘‘संक्रमित संख्या बढ्दो छ। 2 जनाको दुःखद निधन भएको खबर पनि आएका छन्। लकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ। लकडाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ।’’
बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ।









































