काठमाण्डौँ, 17 मई 2020
सरकारले जेठ 20 गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ 20 गतेसम्म लम्ब्याएको हो।
सरकारले पहिलो पटक चैत 11 गतेदेखि 18 गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रो पटक एक साता थपेर 25 चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै बैशाख 3, त्यसपछि 12 दिन थपेर बैशाख 15, त्यसैगरी 10 दिन थप गर्दै बैशाख 25 र पछिल्लो पटक जेठ 5 गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।
आइतबार बसेको कोरोना भाइरस (कोभिड-19) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरे अनुसार सरकारले जेठ 20 गतेसम्म लकडाउनको समय थप गरेको हो।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या 295 पुगेको छ। 2 जनाको कोरोनाकै कारण मृत्यु भएको छ, भने 36 जना निको भएका छन्।









































