काठमाडौं, 10 अगस्त, 2021
सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसि बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख सापकोटाले तुइनबाट खसेर दार्चुलाका युवा जयसिंह धामी बेपत्ता भएको प्रकरणमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले सो घटनाको सत्यतथ्य पत्ता लगाइ विस्तृत विवरणसहितको जानकारी प्रतिनिधिसभामा छिट्टै दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले भन्नुभयो – ‘नेपालबाट भारत जाने क्रममा महाकाली नदी तुइनबाट पार गर्दै गर्दा तुइनबाट खसेर बेपत्ता हुनुभएका जयसिंह धामीको विषयमा मेरो पनि गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाइ घटनाको बिस्तृत विवरण सहितको जानकारी यथाशाक्य छिटो प्रतिनिधिसभामा दिन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु ।’
संसदमा शुन्य समयमा बोल्ने सांसदहरुले जयसिंह धामी प्रकरणको यथार्थता बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।









































