दार्जीलिङ, 13 अप्रेल
कोरोना भाइरस (कोभिड-19) को रोकथाम तथा नियन्त्रणको लागि अहिले पूरै विश्व लकडाउन छ। लकडाउनका कारण अहिले खाद्यान्नको समस्या देखापरेको छ। यसै अवस्थालाई ध्यानमा राखेर दार्जीलिङको सिंगताम चियाबारीमा राहत सामग्री वितरण गरिएको छ।

दार्जीलिङको सेवा तथा सम्मान संस्था, वरदान सम्मान समूह साथै स्थानीय पत्रकारहरूको विशेष पहलमा कोभिड-19 गोराबारी संरक्षण समितिका प्रतिनिधिहरूको संयुक्त प्रयासमा सिंगताम चियाबारीका बासिन्दाहरूलाई राहत सामग्री वितरण गरिएको हो। राहत सामग्री कोभिड-19 गोराबारी संरक्षण समितिले प्रदान गरेको थियो। दार्जीलिङका स्थानीय च्यानल हिमाली च्यानलको थप सहयोगमा चर्चित रेस्तुराँ कालिका, कलेजभेली निवासी कलाकार चम्पा राई, आपकी पसन्द, रोहण मेडिकल अनि रेणुका तामाङको पक्षबाट प्रदान गरिएको राहत सामग्रीहरू संग्रह गरेपछि आज वरदान समूहका सदस्यलगायत पत्रकारहरूको विशेष उपस्थितिमा सिंगताम चियाबारी क्षेत्रका 60 घरलाई आवश्यक सामग्री वितरण गरियो। राहत सामग्री वितरण गर्दै सामाजिक दूरी कायम गरिएको थियो।

उक्त कार्यक्रममा दार्जीलिङबाट वरदान समूहको पक्षमा सुमित्रा अविरल, सबिता गोर्खा अनि पत्रकारको पक्षमा देवराज छेत्र, जफर अकिल, अनिल बीके, फरिद शाह, विवश छेत्री अनि मानव मुक्ति ट्रष्टबाट मिलन बराईलीको उपस्थिति रहेको थियो भने सिंगताम चियाबारी क्षेत्रका मोठ 10 वटा गाउँहरू क्रमैसित धनमान धुरा, गोपाल धुरा, छतीवन धुरा, गोदामटार धुरा, महत धुरा, मोटा धुरा, सईस धुरा, रघुवीर धुरा, बघैंचा धुरा, जोररूख धुरा यी दशै गाउँको पक्षमा संयुक्त संरक्षण समितिका प्रतिनिधिवर्गको विशेष उपस्थितिमा सामग्री वितरण कार्यक्रम गरियो। उक्त कार्यक्रममा गाउँको पक्षमा सामग्रीहरू वितरण गर्दा अत्यन्त अनुशासित रूपमा सामाजिक दुरूत्वलाई विशेष ध्यान दिएर गरिएको थियो।

गाउँको पक्षमा उपस्थित शिक्षक पुष्प राई अनि समरीश गुरूङ साथै अन्य प्रतिनिधिवर्गले गाउँको पक्षमा सबैलाई धन्यवाद दिएका थिए भने वरदान समूह अनि पत्रकारहरूको पक्षमा सबिता संकल्पले सिंगताम चियाबारी निवासी सम्पूर्ण ग्रामको पक्षमा बनाएको संयुक्त समितिका प्रतिनिधिवर्गलाई आभार प्रकट गरे। यसको साथै यसरी समूह अनि पत्रकारहरूको पक्षमा सेवा गर्न पाएवापत् विशेषगरि नकद राशी दिएर सहयोग पुऱ्याउने कालिका रेस्तुरेण्टका विरेन बम्जन, गोराबारीका चित्रे बजार, नव युवक संघ, चम्पा राई, प्रभात राई, रेणुका तामाङ, रोहण मेडिकल अनि आपकी पसन्दका सदस्यहरूलाई हार्दिक धन्यवाद दिए भने विशेषगरि यस सेवाकार्यको निम्ति राहत सामग्री सिंगताम चियाबारीसम्म आइपुग्नमा विशेष सहयोग गर्ने सिंगताम चालाक संगठनका सुमन तामाङ साथसाथै सम्पूर्ण पत्रकारहरूलाई पनि हातेमालो गर्दै कार्यक्रम सफल तुल्याइदिएकोमा आभार प्रकट गरे।










































