गेजिङ, 14 जनवरी / केएन शर्मा
सिक्किमका मुख्यमन्त्री पी एस गोलेले सिक्किममा सरकार परिवर्तन भएपछि सिक्किमका सबै जात जातीलाई समान्त हक र अधिकार प्रदान गरेको बताउनु भएको छ । पश्चिम जिल्लाको याङ्थाङ समष्टि अन्तरगत लिङ्चोम उच्चतर माध्यमिक विद्यालयको खेलमैदानमा दुई दिवसीय लिम्बुहरुको नयाँ वर्ष अर्थात कोफेक्वा तङ्नाम समारोहमा बोल्दै मुख्यमन्त्री गोलेले जातीय पर्व मनाउँदा पुर्व सरकारको पार्टी हेरेर मनाउने चलन भए पनि हामीले चलनलाई परिवर्तन गरेको बताउनुभयो । पुर्व सरकार कानूनदेखी बाहिर चलिरहेको तर त्यस्तो लापरवाही हुन नदिने उहाँले बताउनुभयो । आठ वर्ष काम गर्ने अस्थायी कर्मचारीलाई स्थायू गर्ने उहाँले बताउनुभयो । सरकारी कर्मचारीलाई शनिवार विदाको घोषणा गरेको भएपनि जनताको काम नहुने देखेपछि महिनाको दोस्रो र अन्तिम शनिबारलाई मात्रै विदाको फैसला सरकारले गरेको उहाँले बताउनुभयो । पहिलाको सरकारले सिक्किमका विभिन्न जातीय संगठनमाथि राजनीति मात्रै गर्यो तर कुनै जातिको निम्ति सहि काम नगरेको मुख्यमन्त्री गोलेको भनाई थियो।


आफ्ना आगामी योजनाका बारेमा बताउँदै गोलेले एडक शिक्षकहरुलाई विदामा एक महिनाको तलब दिने, सिक्किमका एक सय गरिबहरुको घर निर्माण गर्ने, वृद्ध भत्ता बढाउने बताउनुभयो । अहिले पुर्व सरकार एसडीएफ पार्टीका कार्यकर्ताहरुले गरिबको झोप्डी घर खिचेर अपलोड गरिरहेको भन्दै २५ वर्षसम्म पूर्व सरकारले हटाउन नसकेको झोपडी अब पाँच वर्षमा हटाउने बताउनुभयो । पुर्व सरकारमा चाम्लिङले सिक्किमलाई १६ सय करोडतको भारी बोकाएको भन्दै अब आउने सालमा हाम्रो सरकारले सबै तिरेर सिक्किमे गरिब जनताको निम्ति काम गर्ने बताउनुभयो । उहाँले पहिलो एसडीएफ सरकारले सिक्किममा २५ वर्षमा नगरेको काम हामी ५ वर्ष गरेर देखाउने उहाँले दावी गर्नुभयो ।

लिम्बु पञ्चाङ अनुसार माघे संक्रान्तिलाई नयाँ वर्ष अर्थात कोफेक्वा तङ्नामको रूपमा मनाउने चलन छ। यस कार्यक्रमलाई राज्य स्तरीय रुपमा मनाउन पश्चिम जिल्लाको याङ्थाङ समष्टि अन्तरगत लिङ्चोम उच्चतर माध्यमिक विद्यालयको खेलमैदानमा दुई दिवसीय कार्यक्रमको आज राज्यका मुख्यमन्त्री प्रेम सिंङ गोलेले उद्घाटन गर्नुभयो। बिगत चार बर्ष अघिदेखि लिङचोममा यो कार्यक्रमलाई मनाउदै आएको हो । कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्रीको साथमा लोकसभा सांसद इन्द्र हाङ सुब्बा, मन्त्री लोकनाथ नेपाल, मन्त्री भिमहाङ सुब्बा, मन्त्री एमएन शेर्पा, प्रभारी पुर्णहाङ सुब्बालगायत लिम्बु समुदाय र स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो । दुई दिवसीय कोक्फेक्वा तङ्नामको आवसरमा मुख्यमन्त्री गोलेले यस पर्वको अवसरमा बनाइएको माङ्हिमा पुजा अर्चना गरेपछि विभिन्न स्टलको अवलोकन गर्नुभयो । आयोजक समितिका कार्यन्वआयक अध्यक्ष एस पी लिम्बुले स्वागत सम्बोधन राख्दै पञ्चाङको आधारमा अहिले सुँगुर लो चलिरहेको बताउँदै अब नयाँ वर्ष अर्थात माघे संक्रान्तीदेखि मुसा लो चल्ने भएकोले लिम्बू साहित्य, संस्कृति, पहिचान र रहनसहनलाई जिउँदो राख्न र खाद्यान्न सामाग्रीहरुको भरपुर आनन्द गराउन यस कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

विभिन्न संस्कृति कार्यक्रमको साथ सम्पन्न कार्यक्रममा रिम्बी तिम्रोङ गाउँ निवासी डाक्टर भिम बहादुर सुब्बालाई अभिनन्दन जनाइयो भने आयोजक समितिका अध्यक्ष पुर्ण वीर लिम्बुले मुख्यमन्त्रीलाई स्मृति चिनह प्रदान गर्नुभयो।









































