दिल्ली, 26 जनवरी 2021
भारतमा मंगलवार 72 औं गणतन्त्र दिवस मनाइएको छ । संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष 26 जनवरीका दिन मनाईने गणतन्त्र दिवस समारोह राजधानी दिल्लीमा भव्य रुपमा सम्पन्न भएको छ । दिल्लीको इण्डिया गेटस्थि राजपथमा हरेक वर्ष वृहत संख्यामा मनाइने गणतन्त्र दिवस समारोह यस वर्ष कोरोना महामारीका कारण सिमीत संख्यामा मनाईएको छ । गणतन्त्र दिवस परेडमा पहिलो पटक यसवर्ष राफेल लड़ाकू विमानसँगै टी-90 ट्याङ्कहरु, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई-30 एमके आई लड़ाकू विमान लगायतले सैन्य शक्ति प्रदर्शन गरेका छन । आज राजपथमा 17 राज्य र केन्द्र शासित प्रदेशका झाँकी, रक्षा मन्त्रालयको छ झाँकी र अन्य केन्द्रीय मन्त्रालय र अर्द्धसैनिक बलका 9 झाँकीसहित 32 झाँकीद्वारा भारतको समृद्ध सांस्कृतिक धरोहर, आर्थिक उन्नति र सैन्य ताकतको झल्को प्रस्तुत गरिएको छ । भारतको झण्डा फहराइएपछि राष्ट्रगान र 21 तोपको सलामीपछि शुरु भएको औपचारिक कार्यक्रममा गुजरात, असम, तमिलनाडु, महाराष्ट्र, उत्तराखण्ड, छत्तीसगढ़, पंजाब, त्रिपुरा, पश्चिम बंगाल, सिक्किम, उत्तर प्रदेश, कर्नाटक, केरल, आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, दिल्ली र लद्दाखको झाँकी प्रसत्त गरिएको थियो। परेडमा भारतीय सेनाका विभिन्न रेजिमेन्ट सहित यस वर्ष बंगलादेश सैन्य बलको 122 सदस्यीय टुकड़ीले पनि भाग लिएको थियो ।
परेडमा थल सेनाले आफ्नो मुख्य जंगी टैंक टी-90 भीष्म, इनफैन्ट्री कोम्बैट वाहन बीएमपी-2 सरथ, ब्रह्मोस मिसाइलको मोबाइल प्रक्षेपण प्रणाली, रोकेट सिस्टम पिनाका, इलेक्ट्रोनिक युद्धक प्रणाली समविजयसहित अन्यको शक्ति प्रदर्शन गरेको छ भने नौसेनाले आफ्नो युद्ध पोत आईएनएस विक्रान्त र 1971 को भारत-पाकिस्तान युद्धको क्रमको नौसैन्य अभियानको झाँकी देखाएको छ ।
त्यसैगरि भारतीय वायु सेनाले हलुका लड़ाकू विमान तेजस र स्वदेशमै विकसित एण्टी-टैंक निर्देश मिसाइल ध्रुवास्त्र सहित वायु सेनाको 38 विमान र भारतीय थल सेनाको चार विमानले भाग लिएका थिए ।









































