दिल्ली, 6 अप्रैल 2021
दिल्ली सरकारले राष्ट्रीय राजधानीमा कोभिड संक्रमण बढेपछि यो महिनाको 30 अप्रिलसम्म रात्रीकालीन कर्फ्यू लगाएको छ । तत्कालदेखि लागू गरिएको कर्फ्यू राति 10 बजेदेखि बिहान 5 बजेसम्म रहनेछ ।
सरकारका अनुसार रात्रिकालीन कफर्यूका क्रममा सवारी साधन चल्नमा कुनै रोक हुनेछैन भने खोप लगाउन अनुमति हुनेछ तर त्यसका लागि ई-पास हुनु आवश्यक हुनेछ । त्यसैगरि किराना पसल, फलफूल तथा तरकारी विक्रेता र मेडिकल स्टोरका सञ्चालकहरुले ई-पास लिनु अनिवार्य गरिएको छ ।
त्यसैगरि प्रिन्ट र इलेक्ट्रोनिक मीडियाकर्मीहरुलाई पनि आवत-जावतका लागि ई-पास लिन अनिवार्य गरिएको छ । तर निजी डाक्टर, नर्स र अर्द्धचिकित्सकहरुलाई भने कर्फ्युले असर गर्नेछैन।
अर्कोतर्फ विमानस्थल, रेलवे स्टेशन र बस अड्डा जाने यात्रुहरुले वैध टिकट देखाएपछि आउन जान दिने भनिएको छ । गर्भवती महिला र रोगीहरुलाई उपचारका लागि जान आउन छूट दिइएको छ ।
त्यसैगरि कर्फ्यूमा छूट दिइएका व्यक्तिहरुलाई मात्रै बस, मेट्रो, अटो र ट्याक्सीमा यात्रा गर्न दिइनेछ । तर अन्तर राज्जीय र राज्यभित्र आउन-जानमा भने कुनै रोक लगाइएको छैन ।
दिल्ली सरकारले आवश्यक र गैर आवश्यक सामग्री ढुवानी गर्ने वाहनहरुमा कुनै प्रतिबन्ध लगाएको छैन । र त्यसका लागि कुनै प्रकारको अनुमति वा ई-पासको आवश्यकता पर्ने छैन ।
दिल्लीमा कोभिड मामिला बढेपछि शुक्रवारबाट फेरि मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेहरुलाई 2 हजार जरिवाना गराइदैछ ।
दिल्लीमा पनि दैनिक फेला पर्ने कोरोना संक्रमितको संख्या धेरै बढेपछि दिल्ली सरकारले यसको रोकथाम र नियन्त्रणका लागि रात्रीकालीन कर्फ्यु लगाएको हो । दिल्लीमा सोमबार एकैदिन 3 हजार 548 नयाँ कोरोना संक्रमित फेला परेका छन ।









































