नयाँ दिल्ली, 28 सेप्टेम्बर
भारतको राजधानी दिल्लीमा एक एकल नेपाली महिलालाई दुर्घटनामा परि घाईते भएका आफ्ना छोरालाई बचाउन हम्मे हम्मे परेको छ । आर्थिक अभाव भएकै कारण उनलाई विभिन्न अस्पताल चहार्दै हिड्नुपर्ने बाध्यता पनि उत्पन्न भएको छ । दिल्लीको मयूर विहार फेज-3 मा बस्दै आएका धुरकोट गाँउपालिका 3 रातापोखरा गुल्मीका 24 वर्षीय सुरज कुँवर दुर्घटनामा परि गम्भीर रुपमा घाइते भएपछि उनकी आमा हुमकला कुँवरलाई उपचारमा समस्या भएको छ । कामबाट घर फर्कदै गर्दा भीषण दुर्घटनामा परेका सुरजको अहिले अचेत अवस्थामा छन । घटना लगत्तै उनलाई दिल्लीको सफ्दरजंग अस्पतालमा लगिएको थियो । तर त्यहाँ राम्रो उपचार हुन नसकेपछि सुरजलाई नोएडास्थित कैलाश अस्पतालमा भर्ना गराइएको थियो । तर कैलाश अस्पतालमा 18 दिनको उपचारमा 10 लाख खर्च भएपनि उपचारमा कुनै सुधार नभएपछि पैसाको अभावमा त्यहाँबाट पनि डिस्चार्ज गरि घर ल्याइएको थियो र उनलाई थप संक्रमण पनि भएर उच्च ज्वरो आइरहपछि नोएडाको सेक्टर 19 स्थित इण्डो गल्फ अस्पतालमा भर्ना गरिएको छ ।
सुरज अझैपनि अचेत अवस्थामा छन । आर्थिक अभावमा राम्रो उपचार नहुने परिवारलाई लागेको छ । उनको अर्थिक समस्यालाई ध्यानमा राख्दै अहिले नारायण विष्ट र विष्णु पाण्डेले आर्थिक संकलन अभियान शुरु गरेका छन । अस्पतामा पनि तिर्नुपर्ने पैसा धेरै भइसकेपछि अस्पतालले पैसा तिर्न दवाब दिएको र हिजो मात्रै 50 हजार ऋण मागेर अस्पतालमा बुझाइएको नारायण विष्टले बताउनु भएको छ । उहाँले उपचारमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।









































