काठमाण्डौँ, 20 अप्रेल
सरकारले सोमबारसम्म देशभरी साढे 33 हजारभन्दा बढी कोरोना भाइरस (कोभिड-19) परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पीसीआर) र ऱ्यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट 33 हजार 5 सय 62 नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। पीसीआर विधिबाट पछिल्लो 24 घण्टामा 3 सय 24 गरी 8 हजार 4 सय 14 नमुना परीक्षण गरिएको उहाँले बताउनुभयो। यस्तै आरडीटी विधिबाट पछिल्लो 24 घण्टामा 3 हजार 19 गरी 25 हजार 1 सय 48 नमुना परीक्षण गरिएको छ। सोमबार नयाँ संक्रमित देखिएका छैनन्। अहिले देशका विभिन्न अस्पतालमा 27 जना उपचाररत रहेका छन्। ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
उदयपुरमा पीसीआर परीक्षणका लागि 1 सय 52 जनाको नमुना संकलन गरिएको छ। उनिहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो।
सरकारले प्रदेशअनुसार परीक्षण गरिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ। सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा आरडीटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन्। सुदूरपश्चिममा सोमबारसम्म 5 हजार 5 सय 78 जनाको नमुना परीक्षण भएको छ। यसैगरी बाग्मती प्रदेशमा 4 हजार 6 सय 76 नमुना परीक्षण भएका छन्। गण्डकी प्रदेशमा 3 हजार 7 सय 51, प्रदेश नम्बर 1 मा 2 हजार 3 सय 49, प्रदेश नम्बर 5 मा 2 हजार 3 सय 24, प्रदेश नम्बर 2 मा 3 हजार 2 सय 38 र कर्णाली प्रदेशमा 3 हजार 2 सय 32 जनाको नमुना परीक्षण गरिएको छ।
अहिले देशभरी 5 हजार 9 सय 36 जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा 4 र उपत्यका बाहिर 1 सय 7 सहित 1 सय 11 जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले कोरोना सम्बन्धि जिज्ञासा सुन्न निःशुल्क हट लाइन नम्बरहरु सञ्चालनमा लिएका छन्। गण्डकी प्रदेश सरकारलाई 1092 र सुदूरपश्चिम प्रदेश सरकारलाई 1148८ नम्बरमा निःशुल्क कल गरेर जिज्ञासा राख्न सकिने छन्।









































