काठमाडौं, 18 जनवरी 2022
सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल गर्दै तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो , स्थानीय तहको निर्वाचन बैंशाखमा नै गर्नेगरि निर्वाचन आयोगसंग छलफल गरेर मन्त्रीपरिषद्बाट मिति तोकिने उहाले बताउनुभयो । बैठकमा राष्ट्रियसभाको निर्वाचनका बिषयमा पनि छलफल भएको कार्कीले जानकारी दिनुभयो । राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हुदैंछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।









































