काठमाडौं, 18 जनवरी 2022
पुस ४ गतेदेखि सञ्चालन गरिएको एक महिने जमलबाट सहिदगेटसम्मको सरसफाई अभियान समापन भएको छ । विभिन्न ३३ वटा संघ संस्था मिलेर सञ्चालन गरिएको काठमाडौको जमलबाट सहिदगेटसम्मको सरसफाई अभियान मंगलबार समापन भएको हो । जमल सहिदगेट क्षेत्र काठमाडौको मुटु भएकोले जमल सहिदगेट सफा भए नेपालका सबै ठाउँ सफा हुने भन्दै यस क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको सरसफाई अभियान्ता राजमान मानवले बताउनुभयो । फोहोर गर्नेलाई सरकारले कडाई नगरेको भन्दै फोहोर गर्नेलाई न्यूनतम दण्ड जरिवाना गर्ने व्यवस्था गर्न उहाँले सरकारसँग आग्रह समेत गर्नुभयो । दक्षिण एसिया क्षेत्र सबै भन्दा बढी फोहोर भएको क्षेत्र भएकाले यस क्षेत्रको सरसफाईका कार्यक्रम अघि बढाएको उहाँको भनाई छ । त्यस्तै कोरोना संक्रमण जोखिमका कारण विदेश जान नमिलेकाले अहिले नेपालमै सरसफाईलाई केन्द्रित गरिएको जानकारी दिनुभयो ।









































