काठमाण्डौँ, 18 मई 2020
राष्ट्रिय सभाको बैठकमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन्, भने विपक्षी दलले सुधारको माग गरेका छन्। सोमबारको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको स्वागत गरेका छन्। उनिहरुले मुलुकको आवश्यकता अनुसार कार्यक्रम आएको भन्दै सरकारको बचाउ गरेका छन्। तर विपक्षी दलका सांसदहरुले भने कोरोनाले प्रभावित भएको जनताको जनजीवन उकास्ने तथा शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम आउन नसकेको भन्दै सुधारको आवश्यकता औल्याएका छन्।

नेकपाका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले नीति र कार्यक्रम सामुहिक रुपमा प्रस्तुत भएको, राष्ट्रको आवश्यकता तथा जनताको चाहाना र सपनालाई सम्बोधन गरेको भन्दै सरकारको बचाउ गर्नुभयो। सरकारले यसअघि भनेको र देखाएको सपना पूरा गरेको भन्दै उहाँले नेपाल सरकार अग्नि परीक्षामा खरो उत्रिएको दावी गर्नुभयो। सरकारले कैयौँ विकास निर्माणका कामसँगै समाजवाद प्रति प्रतिवद्धता जनाएको, राष्ट्रिय स्वाधिनताको पक्षमा बोलेको भन्दै नीति तथा कार्यक्रमको प्रशंसा गर्नुभयो। उहाँले भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिले नेपाली जनताको अपमान गरेको भन्दै निन्दा एवम् भत्र्सना गर्नुभयो।

नेपाली काँग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले लकडाउनपछि शिथिल बनेको अर्थतन्त्र उकास्ने किसिमका आर्थिक पुर्नसंरचनाको कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो। नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमले भ्रष्टाचारलाई बढाउने त होइन भन्ने प्रसस्त आधार देखिएको भन्दै उहाँले शहर केन्द्रीत नभई स्थानीय निकायलाई शक्तिशाली बनाउने तर्फ बजेट केन्द्रीत गर्नुपर्ने धारणा राख्नुभयो। कृषि उत्पादनलाई दोब्बर बनाउने भनिएपनि मलखाद तथा सिंचाईको व्यवस्था मिलाउने तर्फ कार्यक्रम समावेश नभएको, श्रमिक बजारको लिस्ट बनाउने भनिएको भएपनि श्रमलाई नीतिमा रुपान्तरण कसरी गर्ने भन्ने दृष्टिकोण नआएको बताउनुभयो। लकडाउनका कारण सर्वसाधरणको दैनिकी संगै मुलुकको आर्थिक क्षेत्र नराम्रोसंग प्रभावित भएको भन्दै उहाँले तत्काल राहत प्याकेज तथा आर्थिक पुर्नसंरचनाको प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारले मुख्य रुपमा आर्थिक र स्वास्थ्य क्षेत्रमा परेको असरलाई सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले लिपुलेक र लिम्पीयाधुरा मात्रै नभई मुलुकभरका सिमा-नाका मिचिने अवस्था रहेको भन्दै दीर्घकालिन सिमा सुरक्षामा प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सिमाको विषयलाई लिएर नेपाल र नेपालीका बारेमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति गैर जिम्मेवारपुर्ण भएको भन्दै भत्र्सना गर्नुभयो।

त्यसैगरी नेकपाका राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले नीति तथा कार्यक्रमले मुलुकका समस्या सम्बोधन गर्ने गरि आएको भन्दै समर्थन गर्नुभयो। जनतालाई राहत, रोजगार, कृषि प्रवद्र्धन तथा लोकतन्त्रको सम्र्बद्धन संगै सिमा विवादको सन्र्दभमा आफ्नो भूमि राखेर नक्सा सार्वजनिक गर्ने विषय समेत कार्यक्रममा समावेश भएको भन्दै प्रशंसा गर्नुभयो।

राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल पार्वतिले नीति तथा कार्यक्रमको समर्थन गर्नुभयो। अहिले आमनागरिकको जीवन रक्षा र स्वास्थ्य उपचार र निरोगी नागरिक बनाउनु नै राज्यको मुख्य दायित्व भएको भन्दै त्यसतर्फ सरकारका कार्यक्रम उन्मुख भएको भन्दै स्वागत गर्नुभयो। उहाँले स्वदेशमा रहेका र विदेशबाट फर्किएकालाई रोजगार प्रदान गर्ने तर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो।









































