काठमाडौं,17 अगस्त 2020
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई अनुमोदन गरेको छ। पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत विहिबार गठन गर्नुभएको कार्यदललाई नेकपा सचिवालयले अनुमोदन गरेको हो। अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने केही सचिवालयका सदस्यहरुले आग्रह गरेपछि आजको बैठकबाट सो निर्णय भएको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै कार्यदललाई अनुमोदन गरिएको बताउनुभयो। कार्यदललाई प्रभावकारी ढंगले काम गर्न सहज होस भनेर सचिवालयमा अनुमोदन गर्नुपर्ने नेताहरुको सुझाव अनुसार अनुमोदन गरिएको उहाँले बताउनुभयो।
कार्यदलले छिटो भन्दा छिटो पार्टी र सरकार सञ्चालनका लागि गर्नुपर्ने कामहरुको बारेमा सुझाव दिन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले संकट समाधानका लागि दिएका सुझाव परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय वा स्थायी समितिमा पेश गर्ने उहाँले बताउनुभयो। संघिय सरकारका मन्त्री र केही प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने तयारी हो ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘सुरुमा पार्टीभित्र वैचारिक, नीतिगत र विधिगत विषयमा निष्कर्ष निकालेपछि मात्रै अरु विषयमा छलफल हुन्छ। अहिले मन्त्री परिवर्तन गर्ने, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा अहिले पार्टीमा केही छलफल भएको छैन ।’’









































