कैलाली, 16 अगस्त, हिम शाह भारतको सीमासंग जोडिएको कञ्चनपुरको डोकेबजार क्षेत्रका ठेला–छाप्राहरु भत्काइएको छ। त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रमा पर्ने डोकेबजार क्षेत्रका ६३ बढि ठेला–छाप्रा सशस्त्र प्रहरीले भत्काएको व्यवसायीले बताएका छन्।दशगजा क्षेत्रमा पाँच वर्षदेखि ठेला व्यवसायी गर्दै आएको भएपनि अहिले स्थानीय होटल व्यवसायीले आर्थिक प्रलोभनमा पारेको सीमा विकले बताइन्। उनले भनिन्, ‘हामी पानी, चाउँचाउँ बेच्दै आएका थियौ। होटलवालाहरुले गरीखान दिएनन्। उनीहरुका कारण हाम्रो ठेला फलियो। लकडाउनका कारण समस्यामा थियौ। अझै समस्या थपियो। अब के गरी खान होला।’
ठेला–छाप्रा भत्काइएको बारेमा जानकारी समेत नगराइएको स्थानीय रुपनारायण गजुरेलले बताए। उनले भने, ‘अहिले हामी घरमा थियौ। खबर पनि थिएन्। गाडीमा ठेला लैजान थालिएको खबरपछि आएका हौ। सबै भत्काइएको रहेछ। केहि ठेला अरुले पनि लगेछन्।’
डोकेबजारको दक्षिण क्षेत्रमा व्यवसाय गर्दै आएका उनीहरुले होटल व्यवसायीका कारण उठ्ठिबास भएको गुनासो गरेका छन्। दशगजा क्षेत्र खाली गर्न त्यसो गरेको भएपनि ठुला व्यवसायीको पसललाई हात समेत नलगाइएको सीमा विकले बताइन्।
उक्त विषयमा दिनेश खबरले बुझ्न खोज्दा त्रिनगर सशस्त्र प्रहरीले आफुलाई जानकारी नभएको बताएको छ। तर दुई देशको सीमा सुरक्षा बैठकमा ठेला हटाउने सहमती भएको बुझिएको छ।









































