नयाँ दिल्ली, 13 फेब्रुअरी 2021
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीमा उपचार शुरु भएको छ । शुक्रवार मध्यान्ह उपचारका लागि दिल्ली पुग्नु भएका खनाल हिजोनै दिल्लीको अपोलो अस्पतालमा भर्ना हुनु भएको हो ।
जानकारीका अनुसार खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण उपचारका लागि भारतको राजधानी दिल्ली आउनु भएको हो । उहाँ आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित शुक्रबार दिल्ली पुग्नु भएको हो । यसअघि उपचारका लागि चीन जाने गरेता पनि यसपटक कोरोनाको कारणले भारत आउनु भएको बताईएको छ ।
चीन गए १४ दिनको अनिवार्य क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उहाँ भारत आएको भनिएको छ । देशमा राजनीतिक गतिरोधका बिच उहाँको भारत भ्रमणलाई राजनीतिक भेटघाटसँग पनि जोडिएको छ । तर उहाँले राजनीतिक भेटघाटको सम्भावना नरहेको बताउनु भएको थियो । यसैबिच नेता खनाललाई भेट गरि उहाँको स्वास्थ्य अवस्था बुझ्न भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य अपोलो अस्पताल पुग्नु भएको थियो ।
उपचारका लागि दिल्ली आउनु भएका नेता खनाल सोमबार नेपाल फर्किने बताइएको छ ।









































