काठमाण्डौँ, 4 मे 2020
सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफुहरुलाई फसाउन खोजिएको बताएका छन्। राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उनीहरुले पूर्वप्रधानमन्त्री डा. भट्टराईको योजनामा आफुहरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन्। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपरहण गरेको भन्दै उजुरी दिएपछि उनीहरुले यस्तो बताएका हुन्। आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झुठो आरोप गलाएर फसाउन खोजिएको बताउनुभयो। डा. यादव लागयतका सांसदहरुले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रकृयामा सहभागि हुने चाहाना पनि व्यक्त गरेको उहाँले बताउनुभयो। प्रकृयामा सहभागि हुनुभन्दा पहिले नेकपाका नेताहरुसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको उहाँले बताउनुभयो।
अपहरणको आरोप लागेका अर्का सांसद कृष्ण श्रेष्ठ (किसान)ले आफुहरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमासंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफुहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताउनुभयो। ‘हामीले कल्पना समेत गरेका थिएनौँ। पूर्व प्रधानमन्त्री। झन पिएचडी गरेको मान्छे। सबैले उहाँलाई सम्मान गर्छन्। मैले सम्मान गर्छु। तर उहाँले यस्तो गम्भिर आरोप लगाउनुभयो’, डा. भट्टराईप्रति लक्षित गर्दै उहाँले भन्नुभयो।
पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले आफुहरु विरुद्ध झठो आरोपले आफुलाई र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताउनुभयो।
निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताउनुभयो। दुवै उजुरीहरु एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उहाँले मानव अधिकार उलंघन भए/नभएको एकिन गरिने बताउनुभयो। अनुसन्धान निष्पक्ष ढंगले हुने भन्दै उहाँले कानून र संविधान बमोजिम आफ्नो दायित्व पुरा गर्ने बताउनुभयो।
यसअघि आफुलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले बैशाख 18 गते आयोगमा उजुरी दिनुभएको थियो। काठमाडौँबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई बैशाख 10 गते काठमाडौँ ल्याउनुभएको थियो। यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरेका थिए।









































