नयाँ दिल्ली डेस्क, 21 अप्रेल
नेपाली जनसम्पर्क समिति भारतले भारतका हरेक क्षेत्र तथा राज्यहरूमा कोभिड-19 माहामारीको लागि विशेष राहत कोषको स्थापना गरी विभिन्न क्षेत्रहरुमा पीडित नेपालीहरुका समस्याको समाधानका लागि काम गरिरहेको छ । यसै परिप्रेक्ष्यमा नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रले पनि बेङ्गलोरदेखि तमिलनाडु राज्यका हरेक ठाउँहरूमा राहत वितरण गर्ने क्रममा आज पनि तमिलनाडु राज्यको दुई ठाउँमा राहत वितरण गरेको ।
तमिलनाडुको त्रिपुरुरमा नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका कार्यवाहक अध्यक्ष शिव बहादुर बलायरको नेतृत्व तथा नेपाली जनसम्पर्क समिती दक्षिण शाखा समितिका अध्यक्ष दिलीप बलायरको सहयोगमा बागलुङको सिंगानाका स्थायी घर भएको एक 12 जनाको परिवारलाई खाद्य सामग्री लगायत अत्यावश्यक सामग्री वितरण गरेको छ। लकडाउनका कारण सो परिवारलाई खाने समस्या भएको थियो ।

त्यसैगरि आदर्श गाउँपालिका काडी 3 डोटी जिल्ला निवासी हाल चेन्नईको टायनाम्पेटमा बस्ने 10 जनाको परिवारलाई पनि नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रिय महिला संघकी अध्यक्ष सरस्वती निउरे, नेपाली जनसम्पर्क समितिभारतका केन्द्रीय सङ्गठन सचिव चन्द्रकान्त आचार्य तथा नेपाली जनसंपर्क समिति दक्षिण भारत पूर्वी शाखा समितिका अध्यक्ष गंगाराम आचार्यको टोलीले खाद्यान्न वितरण गरेको छ।
नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका कार्यवाहक अध्यक्ष शिव बहादुर बलायरले समस्या परेका नेपालीहरुलाई खाने व्यवस्था गर्ने लागि परेकाले समस्या परेका बेला फोन गर्न पीडित नेपालीहरुलाई आग्रह गर्नुभयो ।









































