नयाँ दिल्ली, 2 अप्रेल 2020
नेपाली काँग्रेस समर्थित संगठन नेपाली जन सम्पर्क समिति भारतले दिल्लीस्थित नेपाली दूतावासले हेल्प डेस्कमार्फत लकडाउनका कारण समस्यामा परेका नेपालीहरूको सहयोग निम्ति आधिकारिक सहयोगीको सूचीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थित केही व्यक्तिहरूलाई मात्र समावेस गरेको भन्दै आपत्ती जनाएको छ।समितिले कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने अवस्थामा सत्तारूढ दलको सचिवालयको हैसियतले दूतावासले हेल्प डेस्क मार्फत आधिकारिक सहयोगीको सूचीमा नेकपा-का केही व्यक्तिहरूको नाम मात्र समावेस गरेको भन्दै घोर आपत्ती जनाएको हो।
नेपाल सरकारका प्रधानमन्त्रीलाई आज एक पत्र लेख्दै नेपाली जनसम्पर्क समिति भारतले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार र भारत सरकारले गरेको निर्णयको स्वागत गर्दै यस काममा नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेको छ ।
भारतमा लकडाउनका कारण अलपत्रमा परेका नेपालीहरूको सहयोगार्थ नेजस भारतले भारतस्थित नेपाली राजदूतावाससँग मिलेर पहल गर्दै आएको अवगत गराउदै प्रधानमन्त्री समक्ष तीन सुत्रीय माग गरेको छ।
नेजस भारतका अध्यक्ष एंव नेपाली काँग्रेसका अमन्त्रीत सदस्य बालकृष्ण पाण्डेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ” भारतमा रहेका हजारौँको संख्यामा नेपाली बेरोजगारी, बिमारी, बाटोमा अलपत्र छन्, यस आपदामा नेपाली दूतावास नयाँ दिल्लीले मात्र सिमित साधन, स्रोत तथा अधिकारीहरुबाट समस्याको समाधान गर्न सक्दैन। सबैले मिलेर गर्नुपर्दछ। हामी सबैको दायित्व पनि हो, भन्ठानेर काम गर्दै आएका पनि छौँ, तर दूतावासले हेल्प डेक्स मार्फत नेकपा समर्थक साथिहरुलाई मात्र अधिकारिक सहयोगीको सूची भनि वितरण गरिनु महामारी जस्तो दुखद अवस्थामा नेपाल र नेपालीलाई सेवा गर्नुपर्ने अवस्थामा सत्तारुढ दलको सचिवालयको हिसाबले हेल्प डेक्स मार्फत गरिएको कार्यको हामीलाई घोर आपत्ति छ र सबै नेपाली र नेपालको लागि सहयोगी पवित्र भावनाले काम गरियोस, साथै नेपालीहरुका समस्या समाधान गर्ने यथाशीघ्र पहल गरियोस भन्ने जोडदार माग गर्दछौँ। “

त्यसैगरि पत्रको 2 नम्बर मागमा ” नेपाल र भारत सरकारको निर्णय दूतावासको सुझाव अनुसार भारत भरि बेरोजगार, मजदुर, असहाय बिमारी सबैलाई लकडाउन नहुँदासम्म रोकिनुस, खाने र औषधी उपचार नेपाली दूतावास र हामी मिलेर गर्नेछौ भनि ठुलो संख्यामा नेपालीहरुलाई हामी सक्दो सहयोग गर्दै रोकेका छौ, लकडाउन पछिको यति ठुलो संख्यामा नेपालीहरुलाई कसरी सुविधा दिने र नेपाल सरकारको नियम पालन गरि कसरी नेपाल पुर्याउने यस विषयमा पनि योजना बनाउँदै उनीहरुका समस्या समाधान गर्ने यथाशीघ्र पहल गरियोस भन्ने जोडदार माग गर्दछौँ। ” भनिएको छ ।
पत्रमा नेपाल सरकारको लकडाउनका कारण भारतका विभिन्न ठाउमा अलपत्र परि बिचमा फसेका नेपालीहरुलाई सुरक्षित नेपाल सरकारको नियम अनुसार नेपालसम्म पुर्याउन यथाशीघ्र पहल गरियोस भन्ने जोडदार माग समेत गरिएको छ ।









































