काठमाण्डौ, 23 मई 2020
शनिबार बाँकेको नरैनापुरमा २७ जनासहित थप ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए । २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाले सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दीयामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको बताउनुभयो । शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ९४ वटा नमुना परीक्षण पीसीआर विधिबाट भएका छन् ।









































