काठमाण्डौ, 6 जुन 2020
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुष र धनगढी ४ की ५५ वर्षिय महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको बताउनुभयो । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताउनुभयो । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको उहाँले बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ । अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ ।
देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा ४ हजार ३ सय ३ जना, प्रदेश २ मा २१ हजार ९२ जना, बागमती प्रदेशमा ३ हजार ५ सय १३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८, प्रदेश ५ मा ४१ ह्जार २ सय १७, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।









































